काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई स्थायी बनाउन गठबन्धन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० को सतुंगलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मंसिर ४ गते एकै दिनमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले यसको फैसला गर्ने पनि बताए।
प्रधानमन्त्री देउवाले भने, “मंसिर ४ गते देशैभरी नै एकैदिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गइरहेको छ। यो नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण छ। नेपाल कता जाने हो, नेपालको भविष्य कता लाने हो भन्ने फैसला गर्नुछ।”
३३ प्रतिशत महिलाको अधिकार, आदिवासी जनजाति, दलित सबैलाई समावेसी हक दिएकोले अहिलेको समावेसी संविधान एवम् प्रजातन्त्रलाई बचाउनुपर्ने उनको भनाइ छ।
“त्यसैले यो संविधान समावेसी, यो समावेसी प्रजातन्त्र पनि हो। सबैलाई अटाउने संविधान बनेको छ, यो उपलब्धिमूलक कुरा हो। संविधानलाई बचाइराख्नुछ। नेपाली जनताले लामो लडाइँपछि लोकतन्त्र पाएका हौँ। त्यही लोकतन्त्रले आज निर्वादरुपमा बोल्न पाएका छौँ,” उनले भने ।
प्रधानमन्त्री देउवाले यही लोकतन्त्र स्थायी गराउन गठबन्धन आवश्यक रहेको बताए । “यसलाई स्थायी गराउन आजको आवश्यकता हो। गठबन्धनको एउटै कुरा छ, हामी विभिन्न ध्रुव, सिद्धान्तबाट आएका हौं। तर, स्थायी लोकतन्त्र कुनै पनि हालतमा लोकतन्त्रलाई कमजोर बनाउन नसकोस्। यो स्थायी बनाउन गठबन्धन बनेको हो”, उनले भने।
निर्वाचनपछि गठबन्धन सरकार दशदेखि १५ वर्षसम्म जाने बताउदै उनले घर भत्किएको बाटोमा मुआब्जा प्रदान गरिने विश्वास दिलाए ।