काठमाडौँ । भारत सरकारले निर्यातमा कर लगाएपछि नेपालमा धान, चामल र कनिकाको आयात घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा ३१ दशमलव ६७ प्रतिशतले चामल आयात घटेको छ।
सोही अवधिमा ८६ दशमलव ५८ प्रतिशतले धान आयात घटेको भन्सार विभागको तथ्यांक छ। गत वर्षको पहिलो तीन महिनामा ३० प्रतिशतले कनिका आयात समेत घटेको छ।
गत आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा भारतबाट कुल ४० करोड ४१ लाख ५८ हजार रुपैयाँ बराबरको कनिका आयात भएको थियो। यस वर्ष सोही अवधिमा २८ करोड २६ लाख ३४ हजार रुपैयाँ बराबरको मात्रै आयात भएको छ।
भारतले भदौ २४ गतेदेखि बासमती र उसीनाबाहेकको धान–चामल निर्यातमा २० प्रतिशत कर लगाउँदै कनिका निर्यातमा पूर्ण बन्देज गरेको थियो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ अर्ब ९३ करोड ३२ लाख रुपैयाँको चामल आयात भएको छ।
जबकि गत आर्थिक वर्षको पहिलो तीन महिनामा ७ अर्ब २२ करोड ४ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो।यो आर्थिक वर्षको पहिलो ३ महिनामा धान, चामल आयात घटेको देखिए पनि विगतका ५ वर्ष अवधिको मूल्यांकन गर्दा भने बढेको देखिन्छ । कृषि विभागकी उपमहानिर्देशक जानुका पण्डित आयातित मसिनो चामल सबैको रोजाई बन्दै गएकाले बर्सेनि आयात बढेको बताइन्।