काठमाडौं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ।
नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गरेको छ। निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको जानकारी दिए। निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना भइसकेका छन्। एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बरबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ।
यसैगरी सेनाले सुरक्षा संवेदनशीलताका आधारमा देशका ७६२ स्थानमा बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको र थप १४३ स्थानमा फौज राख्ने तयारी भइरहेको जनाएको छ।
यसअघि निर्वाचन आयोगको मुख्यालय तथा मतदान सामग्री, मतपत्रको सुरक्षा र प्याकेजिङका लागि एक सय जना नेपाली सेना यसअघि नै परिचालन भइसकेका छन्।
निर्वाचन सुरक्षामा असर पर्ने गरी कुनै गतिविधि भए तत्काल परिचालन हुने गरी काठमाडौं पोखरा, चितवन, बर्दिवास, इटहरी, सुर्खेतलगायतका स्थानमा सेनाले हवाई साधनसहित १५० सैनिक तयारी अवस्थामा राखेको जनाएको छ।
सुरक्षा संवेदनशील रहेका मतदान स्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६१० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिनेछ। विस्फोटक पदार्थ पत्ता लगाउन र निष्क्रिय पार्न देशभर दुई हजार ५६० तालिम प्राप्त बम डिस्पोजल टोलीलाई पूर्वतयारी अवस्थामा राखिएको छ।