काठमाडौं। नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं १ मा काङ्ग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।
समस्या समाधानका लागि भूमि आयोग बनेको र त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उनले बताए।
नेता सिंहले भने, ‘भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचनका कारण अहिलेलाई रोकिएको छ।’ थापाथलीस्थित वाग्मती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा उनले प्रतिवेदन आइसकेपछि त्यसको अध्ययन गरेर स्थायी समाधान निकाल्ने प्रतिबद्धता जनाए।
समस्या समाधान गर्दा जबरर्जस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनको प्रतिबद्धता छ। मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले सरल र छिटोछरितो बनाउन पहल गर्ने उल्लेख गरे।