धनगढी । नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार बनेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले अगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली फेरी प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
आइतबार नेपाल परिवार दल सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ढकालले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्दै परमादेशलाई गलत भएको स्थापित गरिने जिकिर गरे ।
‘देशमा अहिले परमादेशबाट बनेको गठबन्धनको सरकार छ । सरकारले अदालतले होइन संसदले बनाउँछ । गलत पद्धती र नजिर सच्याउन जनतामा जानुको विकल्प थिएथ,’ ढकालले भने, ‘ पुनः केपी ओली प्रधानमन्त्री हुने हैसियतमा परमादेशको आदेश सच्याउन सकिन्छ । ओलीले जितेर प्रधानमन्त्रीमा निर्वाचित हुनु भनेकै परमादेश गलत थियो भन्ने स्थापति हुनु हो । ’
उनले सोही कुरालाई स्थापित गर्न परिवार दलले एमालेसँग चुनावी तालमेल गरेको बताउदै ओली पुनः प्रधानमन्त्री बन्ने दाबी प्रस्तुत गरेका छन् । वैचारिक हिसाबले नेपाल परिवार दल लोकतान्त्रिक पार्टी भएपनि विकास र समृद्धिको महाअभियानको थालनी एमालेले गरेकाले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न चुनावी तालमेल गरिएको उनको भनाई थियो ।