काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवार रहेकी तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने भएको छ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको छ। योसँगै ललितपुर–३ मा तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने भएको हो।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले तोसिमाको उम्मेदवारी कायमै रहने जानकारी दिए।
नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि उनी सर्वोच्च गएकी थिइन्।
उनको उम्मेदवारी कायम गर्ने अदालतले आदेश दिएपछि निर्वाचन आयोगले फेरि अदालतमा रिट दर्ता गरेको थियो।
मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुने हुँदा त्यस पदबारे निर्क्यौलका लागि कार्कीले आयोगमा भदौ २८ मा निवेदन दिएकी थिइन्।
आयोगले त्यस निवेदन उपर कुनै सुनुवाइ नगरी आफू विरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन्।