तम्घास। गुल्मीमा ७४ वर्षीया वृद्धाको आफ्नै घरभित्र शंकास्पद मृत्यु भएको छ।
इश्मा गाउँपालिका वडा नम्वर ५ की ७४ वर्षीया जीवकला थापा घरको ढोकामा ताल्चा लगाएको अवस्थामा घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
थापाले नाक र कानका लगाएको गहनाहरु पनि नभएकाले घटना रहस्यमय देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधबराज खरेलले जानकारी दिए।
थापा दुई दिन अगाडिदेखि गाउँमा हिँड्डुल गरेको नदेखेको स्थानीयहरुले जनाएका छन्। घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि खरेलकै नेतृत्वमा एक समिति गठन गरी अगाडि बढ्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
मृतकको स्थलगत मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा गुल्मीमा ल्याइएको र पोष्टमार्टमपश्चात आफन्तको जिम्मा लगाइने खरेलले बताए।