काठमाडौं। महानायक राजेश हमालले भ्रष्टाचार नेपालको समुन्नतिको मुख्य बाधक भएको बताएका छन्।
हमालको शुभेक्षा लिन पुगेका काठमाडौं क्षेत्र नं १ का उम्मेदवार पुकार बमसँग कुरा गर्दै हमालले भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत ठाँउमा नयाँ पुस्ता पुग्नुपर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार रहेका बमले विचारमा स्पष्ट र नियतमा सफा युवाहरु यसपटक संसदमा जानुपर्ने भन्दै महानायक हमालसँग शुभेक्षा मागेका थिए।
पुकार बमसँगको भेटमा हमालले राजनीतिक विसङ्गती, भ्रष्टाचार, नातावाद र कृपाबादले नेपाललाई कसरी समस्यामा पुराएको छ भन्ने बारेमा छलफल भएको थियो।
यसअघि बमलाई चलचित्र निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई र कलाकारहरु रबिन्द्र सिंह बानियाँ, निर्मल शर्मालगायतले समर्थन गरेका थिए। कलाकारहरुको समर्थनबाट खुशी उम्मेदवार बमले महानायक हमलसँग पनि विगत १५ वर्षदेखि सडकबाट वेथितीको विरोध गरेको, नीतिगत भ्रष्टाचारका कतिपय मुद्दामा प्रतिरोध गरेको र निरन्तर समाजसेवामा सक्रिय रहेकाले अब संसदबाट हस्तक्षेप गर्न चाहेको बताएका थिए।
काठमाडौं क्षेत्र नं १ मा पुकार बमसँगै, सत्ता गठबन्धनका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रविन्द्र मिश्र लगायत प्रतिस्प्रधामा छन्।