काठमाडौं। भक्तपुरमा आगलागी हुँदा २५ वर्षीया युवतीको मृत्यु भएको छ।
आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी हुँदा २५ वर्षकी अस्मिता केसीको मृत्यु भएको हो। अस्मिता आत्मरामकी छोरी हुन्।
सुस्तमनस्थिति र प्यारालाइसिसबाट ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएकी थिइन्।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ राइटोल नजिकै बुधबार बिहान आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए।
यस्तै, हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको उद्धार गरी कोरियन अस्पताल लगिएको थियो। उनको डिस्चार्ज पनि भइसकेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा आएको हो।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।