काठमाडौं। अर्थविद् डा.स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र सुधार गर्नको लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताएका छन्। बुधवार बागमती क्याम्पसका विद्यार्थीहरूलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले यस्तो बताए।
उनले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिस्पर्धी बनाउनको लागि राजनीतिक निर्णय तथा नीतिहरूमा सुधार ल्याउनुपर्ने बताए। डा. वाग्लले मुलुकको अर्थतन्त्र सबल र चलायमान बनाउँदै माथि उठाउनको लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताए।
‘नेपालले भन्दा अन्य देशहरूले उत्पादन गरेका वस्तुहरू सहज र सस्तोमा लान सकेका छन्। नेपालले तत्काल पुग्न सक्ने सफ्टवेयर तथा डिजिटलाइजेशनमा जानुपर्छ। राजनीतिक निर्णय तथा नीतिहरू अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिस्पर्धी बनाउने गरी गर्नुपर्छ,’ अर्थविद् स्वर्णिम वाग्ले भन्छन्, ‘मुलुकको अर्थतन्त्र सबल र चलायमान बनाउनको लागि अहिलेको व्यवस्थाको निरन्तरता हुनु हुँदैन। यथास्थितिमा मुलुकको अर्थतन्त्र माथि जान सक्दैन। त्यसैले मुलुकको अर्थतन्त्र माथि लानको लागि राजनीतिक नेतृत्वमा युवा अगाडि आउनुपर्छ।’
उनले यथास्थितिमा मुलुकको अर्थतन्त्र माथि जान नसक्ने बताए। उनले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार, होटेल पूर्वाधारको बिस्तार, दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्ने बताए।
उनले अहिले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भन्दै रेमिट्यान्सले धेरै समय मुलुकको अर्थतन्त्र धान्न नसक्ने दाबी गरे। उनले नेपालको पूर्वाधार तथा उद्योगमा विदेशी लगानी ल्याउँदै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएर पर्यटक बढाउँदा मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्न सक्ने बताए।
उनले नीतिहरूमा सुधार गर्दा मात्रै सन् २०३० सम्मको नेपालको अर्थतन्त्रको मार्गचित्र माथि लैजान सकिने बताए।