काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो।
निर्वाचनका दिन र त्यसको दुई दिनअघिको मौसम सामान्यतया सफा रहँदा मतदाता र उमम्मेदवारका लागि सहज हुने महाशाखाले उल्लेख गरेको छ।
महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ र हालको मौसमी विश्लेषणअनुसार निर्वाचनका दिन मौसम सफा रहनेछ।
महाशाखाले जारी गरेको प्रारम्भिक मौसम पूर्वानुमान अनुसार मङ्सिर ४ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गरिने महाशाखाले उल्लेख गरेको छ।