तनहुँ। तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्न रोबोटको प्रयोग गरिएको छ।
नौलो तरिका अपनाएर मतदातालाई आकर्षित गर्न सदरमुकाम दमौलीमा ‘एरिका’ नाम दिइएको रोबोटले भोट मागिरहेको छ।
सेन्सरजडित रोबोट मानिसहरु भएको ठाउँमा जान्छ र भोट माग्ने गर्छ। रोबोटले भोट मागेको देख्दा मतदाताहरु पनि अचम्मित भएका छन्।
रोबोटले मान्छे नजिक आउनासाथ नमस्कार, जय नेपाल म एरिका रामचन्द्र पौडेललाई रुख चिन्हमा भोट माग्न आएको भन्दै भोट माग्ने गर्छ।
रोबोटसँग मानिसले ‘आइ कन्ट्याक्ट’ अर्थात् आँखा जुधाउनुपर्छ। अनि रोबोटले ‘जय नेपाल’ भन्छ। अनि मानिसहरुसँग रुखमा भोट हालेर जिताउन आग्रह गर्छ। रोबोटलाई नेता पौडेलको प्रचार अभियानमा हिँडेको टोलीले लिएर हिँडिरहेको छ।
रोबोटले कांग्रेसमा भोट हाल्न गरेको अनुरोधलाई सर्वसाधारणले निकै मज्जा मानेर हेर्ने गरेका छन्। इलोक्ट्रोनिक इन्जिनियर शम्भु आचार्यको नेतृत्वको टिमले रोबोट निर्माण गरेको हो।
‘प्रविधिको प्रयोग गरी भोट माग्दा मतदातालाई आकर्षित गर्ने हुँदा प्रभावकारी हुने भएकाले २५ दिन लगाएर तीन लाख ५० हजार रुपैयाँको लागतमा रोबोट बनाएको निर्माता आचार्यले जानकारी दिए।