काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लगभग पूरा जानकारी दिएको छ।
आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लगभग पूरा जानकारी दिएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनका लागि आवश्यक तयारी लगभग पूरा भएको बताए।
उनले सुरक्षा व्यवस्था चुस्त बनाइएकोले ढुक्कले मतदान गर्न आग्रह मतदातालाई आग्रह गरे।
उनले मतदानको ३ दिनको प्रत्यक्षतर्फको मतगणना सक्ने दाबी गरे। साथै, त्यसको ५ दिनमा समानुपातितर्फको मतगणना सकेर मंसिरको २२ गते राष्ट्रपतिलाई निर्वाचनको प्रतिवेदन बुझाउने तयारी रहेको जानकारी दिए।
‘मंसिर ७ गते बेलुकीसम्म प्रत्यक्षतर्फ सबै र त्यसको पाँच दिन भित्रमा समानुपातिकतर्फको सबै मतगणना सक्ने योजना बनाएका छौं,’ उनले भने, ‘हामी मंसिरको २२ गते सम्पूर्ण रिपोर्ट बोकेर राष्ट्रपतिसमक्ष बुझाउन जाने तयारीका साथ लागेका छौं।’
आयोगले मतदाताको सुविधाका लागि मंसिर ४ र ५ गते बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेको छ।
सरकारले भने मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिइसकेको छ। साथै, मतदान केन्द्र रहेको शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिएको छ।
आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ।
निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टा अघिको समयलाई मौन अवधि तोकेको छ। यो नियम उल्लंघन गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना हुने थपलियाले बताए। आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ।
सम्बन्धित समाचारः
आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?