काठमाडौं। गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान)ले आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गर्ने भएको छ।
बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको बताए। पोखरा सभागृहमा हुने कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसंग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिने अध्यक्ष गुरुङले बताए।
उनले झण्डै ५ करोड संकलन गर्ने योजनासहित कार्यक्रम आयोजना गरिएको र यसमा गुरुङ चलचित्रलाई माया गर्ने सम्पूर्णको साथ दिने बताए। उनले भने, ‘हाम्रो आफ्नै भवन निर्माण भएपछि यसबाट निकै लाभान्वित हुने विश्वास लिएको छ। यसले सम्पूर्ण चलचित्रकर्मी, भाषा, कला र सस्कृतिको प्रवर्द्दन एवम् संरक्षणमा टेवा पुग्ने छ।’
संस्थाका महासचिव लब्सन गुरुङले जिफानले विभिन्न चलचित्र तथा गीतसंगीत मार्फत गुरुङ समुदायको भाषा, कला र सस्कृतिलाई जोगाउन उलेखनीय भूमिका खेलेको बताए।
महासचिव गुरुङले स्थापनाकालदेखि विभिन्न समस्या र चुनौतीका बाबजुद चलचित्रमार्फत गुरुङ समुदायको गरिमा र प्रतिष्ठालाई उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको जिफानको यस अभियानलाई सफल बनाउन देश तथा विदेशमा अरु कार्यक्रम पनि गर्ने योजना भएको सुनाए।
त्यस्तै, संस्थाका उपाध्यक्ष सन्तोस कोन्मेले कार्यक्रममा २०५२ सालदेखि हालसम्म निर्माण भएर जिफानमा दर्ता भई प्रदर्शन भएका चलचित्रहरुको पोष्टर प्रोजेक्टर तथा बोर्डमार्फत प्रदर्शन अनि लोकप्रिय गायक गायिकाद्वारा गीत प्रस्तुत गर्ने जानकारी दिए।
यस्ता कार्यक्रम आयोजना हुँदा कोभिडपछि सुस्त भएको गुरुङ चलचित्र तथा गीतसंगीतको गतिविधि पनि बढ्ने कोन्मेको भनाइ छ। विधिवत् रुपमा २०६५ सालमा स्थापना भएको जिफानमा हाल सम्म १६० वटा चलचित्र दर्ता भएको छ। २०५२ सालमा पाते निर्माण गरेपछि सुरु भएको गुरुङ चलचित्र देशको दोस्रो ठुलो बजारको रुपमा लिइन्छ।