काठमाडौँ । नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बिच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
केही मिडियाको नाम जोडी माओवादीलाई भोट नदिनु भनेर काङ्ग्रेसले सर्कुलर जारी गरेको भन्ने समाचार भ्रमपूर्ण भएको मिथ्या सूचनामा विश्वास नगर्न आम नागरिकमा आह्वान गरिएको हो ।
‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो,’ नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका मुख्य सचिवको संयुक्त वक्तव्य जारी भनिएको छ, ‘नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकारप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।’
यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गरिएको छ ।