काठमाडौं। आज बिहानदेखि जारी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हालसम्म देशभर ३२ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगले आइतबार दिउँसो १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको जानकारी दिएको छ। सामान्य छिटपुटबाहेक उत्साहपूर्ण र शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले जनाएको छ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको बताए। उनले भने, ‘चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०/११ बजेपछि मात्र भिड बढेको छ।’
मतदान रोकिएका केही स्थानमा पुःन मतदान सुरु भइरहेको र बाँकीमा सूचारु गर्न छलफल जारी रहेको छ।
आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ। स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनुपर्नेछ।
मतदान गर्ने प्रयोजनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने आयोगले जनाएको छ।