काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच फोन संवाद भएको छ। बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गर्दै आगामी राजनीतिक कार्यदिशाको विषयमा छलफल गरेको बुझिएको छ ।
प्रत्यक्षतर्फ १०० सिट हासिल गर्ने लक्ष्य बोकेको एमाले र समग्रमा बलियो तेस्रो शक्ति बन्ने लक्ष्य राखेको माओवादी केन्द्र दुवैले सोचेभन्दा कमजोर नतिजा निकालेका छन्। जारी मतगणनाबाट उनीहरुले थप उत्साहित हुने स्थिति छैन।
‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ,’ प्रचण्डको जवाफ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।’
ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रचण्डसँग फोनमा कुरा भएको पुष्टि गरे । ‘बधाई साटासाट भयो, यसपछि कसरी जाने भन्नेबारे चुनावी नतिजा हेरिसकेपछि छलफल हुनसक्छ भनेर प्रचण्डले भन्नुभएको छ’ उनले भने ।
नेकपा विभाजनपछि ओली र प्रचण्डबीच तिक्ततापूर्ण सम्बन्ध रहिआएको छ। सार्वजनिक भाषणहरूमा उनीहरूले एकअर्काको आलोचना गर्ने गरेका छन्। त्यसो त २०७४ मा वाम गठबन्धन बनाउने निर्णय लिनुअघि पनि उनीहरु कटाक्षमा उत्रिने गरेका थिए। नेकपा गठनपछि केही समय दुई बीचको सम्बन्ध सौहार्दपूर्ण भए पनि विस्तारै तिक्तता बढेको थियो।