काठमाडौं। काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले चुनावमा साढे २४ लाख रुपैयाँ खर्च गरेका छन्।
उनले मंगलबार सामाजिक सञ्जालमार्फत चुनावमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोग समक्ष पेश गरेको जानकारी दिएका छन्।
यसपटक उनले निर्वाचन लड्न आर्थिक सहयोगका लागि सार्वजनिक अपील गर्दा ३३ लाख जम्मा भएको थियो। निर्वाचन आयोगले तोकेको खर्च सीमा रू २५ लाखको हाराहारीमा सहयोग प्राप्त भएपछि उनले भिडियो सन्देशमार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिए।
यसपटक निर्वाचन खर्चपश्चात बचेको लगभग रू ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा जाने उनले जानकारी दिएका छन्।
उनले सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा २१ लाख ५० हजार खर्च गरेका थिए र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम पार्टीलाई बुझाएका थिए।
२०७४ सालमा विवेकशील र यसपटक राप्रपाबाट चुनाव लडेका मिश्र दुबैपटक कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका थिए।