काठमाडौँ । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ। मत परिणाम अनुसार सात राजनीतिक दल राष्ट्रिय पार्टी बनेका छन्।
आयोगले समानुपातिक मत परिणाम अनुसार तीन प्रतिशत मत कटाउने दललाई राष्ट्रिय मान्यता दिँदा सात दलले मात्र आयोगले निर्धारण गरेको थ्रेस होल्ड कटाएका हुन्। आयोगका अनुसार थ्रेस होल्ड काट्न ३ लाख १६ हजार ८०२ मत चाहिन्छ।
जस अन्तर्गत नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत ल्याएर समानुपातिकमा पहिलो पार्टी बनेको छ। दोस्रो नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत ल्याएको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ मत पाएको छ। जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत पाएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मतसहित थ्रेस होल्ड कटाएको छ।
नेकपा एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्नबाट बञ्चित भएको छ। एकीकृत समाजवादीले निर्वाचन आयोगले तोकेको थ्रेस होल्ड कटाउन १८ हजार ४११ मत पुर्याउन सकेन।