काठमाडौं। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग जीवितै रहेको बताएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले जबराविरुद्धको महाअभियोग जीवितै रहेको बताएका हुन्।
उनले महाअभियोग संसदको सम्पति रहेको र नयाँ संसदले त्यसबारे निर्णय गर्ने बताए।
उनले भने, ‘प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेश भएको छ। त्यो अर्को प्रतिनिधसिभामा छलफल हुने हो, त्यो विषय जीवितै छ। यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो। यसको छलफल आउने प्रतिनिधिसभामा हुन्छ र छलफल भएरै निर्णयमा पुग्छ।’
बुधबार मात्रै संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन्। महाअभियोग निष्क्रिय भएको पत्र पाएसँगै जबरा आजै अदालतमा हाजिर हुने तयारीमा छन्।
तर, नेपाल बार एशोसिएसनल जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भएको छ।