काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले शुक्रबार प्रदेश सभातर्फ समानुपातिक सदस्यहरुको नाम निर्वाचन आयोगमा पठाएको छ ।
लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार मधेस प्रदेशबाट मधेसी महिला कोटामा रुपा कुमारी यादव र मधेसी अल्पसंख्यक महिला कोटामा रमिता प्रधानको नाम पठाइएको छ।
लोसपाले मधेस प्रदेशमा प्रदेश सभातर्फ प्रत्यक्षमा सात वटा सिट जितेको छ । त्यसमा दुई सिट समानुपातिकमा पाएको हो ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट खस आर्य महिला कोटामा हेमा वेल्वासे केसीको नाम पठाइएको छ । लोसपाले लुम्बिनी प्रदेशमा प्रदेश सभातर्फ प्रत्यक्षमा दुई सिट समानुपातिकमा एक सिट प्राप्त गरेको छ ।लोसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा चार सिट मात्र जितेको छ ।