काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले मुद्दा फिर्ता गर्नेगरी ल्याउने निर्णय गरेको अध्यादेशको विरोध गरेका छन् । उनले त्यो निर्णय सरकारलाई तत्काल फिर्ता लिन आग्रह समेत गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट र आफ्नो व्यक्तिगत आइडी फेसबुकमा स्टाटस पोष्ट गर्दै सभापति लामिछानले त्यसको विरोध जनाएका हुन् । उनले लेखेका छन्, “अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? एक हप्ता ? दुई हप्ता ? तीन हप्ता ? त्यस्तो के आपतकाल लागेको थियो र ?”
अब बन्ने नयाँ संसदले गर्नुपर्ने काम सरकारले अध्यादेश ल्याएर गर्ने भन्नु जनादेशको मर्म मिच्नु हो उनको तर्क छ । लामिछानेले ट्वीटमा भनेका छन्, “एक दुई हप्ता पनि कुर्न नसकिने ? या अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ । नयाँ ससदको अधिकार मिच्ने प्रयास भएको छ । यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो यो तत्काल फिर्ता हुनुपर्छ ।”