काठमाडौं। सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई आममाफी दिन मिल्ने गरी अध्यादेश ल्याएको छ।
त्यसले विप्लव, सिके राउतलगायतका कार्यकर्तालाई पनि फाइदा पुग्ने आकलन गरिएको छ।
सरकारले अध्यादेशबारे औपचारिक रुपमा केही जानकारी दिएको छैन। तर, उक्त अध्यादेशले रेशमलगायत कारागारबाट छुट्ने आशंक गरिएको छ र उक्त अध्यादेशको सर्वत्र विरोध भइरहेको छ।
यसैबीच, रेशम चौधरी रहेको डिल्लीबजार कारागार अगाडि उनका समर्थकको घुइचो लागेको छ। कार्यकर्ताहरू रेशम चौधरीलाई स्वागत गर्न भन्दै फुलमाला र पार्टीको झन्डासहित लिएर कारागार अगाडि बसिरहेका छन्। त्यहाँ पार्टीका महासचिव रतन थापा, जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीसहितका नेता कार्यकर्ता उपस्थित छन्।
तर, उनी छुट्ने वा नछुट्ने केही पनि निश्चित भएको छैन। जेलर बसन्त पुरीले चौधरीलाई छाड्ने पत्र नआएको बताएका छन्।