पोखरा। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। विमानस्थलमा परिक्षण उडान पनि सम्पन्न गरिसकिएको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एयरले गर्ने भएको छ। बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरेको हो।
यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन पनि दिइसकेको छ। पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तिन स्थानको लागि उडान भर्ने छ। बुद्ध एयरका अनुसार पोखरा–बनारस, पोखरा–दिल्ली र पोखरा–देहरादुन उडान गर्ने योजना बनेको छ।
विमानस्थलबाट नेपाली विमान कम्पनीहरू बुद्ध एयर सहित हिमालय एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरेको बताइएको छ। यस विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले पनि उडान भर्न चासो देखाएका छन्।
विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न मिल्ने छ भने आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ छ वटा विमान उडान तथा अवतरण गर्ने व्यवस्था छ। विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता रहेको छ।