काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मोबाइल एप ‘काठमाडौं मेट्रोपोलिटन- कामनपा’ को बेटा भर्सन सार्वजनिक गरेको छ । बिहीबार २८औं महानगरपालिका दिवसको उपलक्ष्यमा मेयर बालेन्द्र शाहले एपको उद्घाटन गरे ।
महानगरले स्मार्टपालिकासँगको सहकार्यमा नागरिकहरुलाई डिजिटल प्रविधिको माध्यमबाट सेवा दिने उद्देश्यलाई सो एप ल्याएको हो । एपबाट महानगरपालिको सचना तथा जानकारी, सिफारिस आदि प्राप्त गर्न सकिन्छ ।
त्यस्तै एपमा भएको ‘हेल्लो मेयर’ बाट नागरिकले मेयरसँग भर्चुअल कुरा गर्न सक्छन् । साथै ‘जनगुनासो’ बाट नागरिकले आफ्नो जनगुनासोहरु राख्न सक्छन् ।
बेटा भर्सनमा सार्वजनिक भएको एपबाट वडा कार्यालयले दिने १७१ भन्दा बढी सिफारिसका काम गर्न सकिने स्मार्टपालिकाका क्याम्पेन डिरेक्टर बिबस महतले जानकारी दिए । उनका अनुसार यस फिचरबाट अब नागरिकले वडा कार्यालय नगई एपबाट नै सिफारिस लिनसक्ने भएका छन् ।
यस सुविधा प्रयोग गर्नका लागि नागरिकले एपबाट सिफारिसका लागि अनुरोध गर्नुपर्छ । त्यसपछि सम्बन्धित वडाअध्यक्ष र सचिवले हेरेर सिफारिसमा डिजिटल सिग्नेचर गर्ने उनी बताउँछन् ।
हाल यस एप एन्ड्रोइड मात्र उपलब्ध छ । अब चाँडै नै आईओएसमा पनि उपलब्ध हुने बताइएको छ । एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।