काठमाडौं। चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले लामो समयदेखि अस्पतालमा सम्पर्कविहीन भएका कर्मचारीलाई ३० दिन हाजिर हुन आउन आग्रह गरेको छ।
अस्पतालले आइतबार १२ जना कर्मचारीका नाममा सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै ३० दिनभित्र हाजिर हुन आउन आग्रह गरेको हो।
अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स, कोभिड अस्पतालतर्फ दुई जना अनमी र चार जना स्टाफ नर्स गरी १२ जनालाई हाजिर हुन आउन आग्रह गरेको हो।
तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन र प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
न्याम्सले सूचना जारी गरेका स्टाफहरुमा रजिष्ट्रारर ट्युटर डा. सृष्टि शाह र स्टाफ नर्सहरु (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन्।
यस्तै, अनमीहरुमा छैटौँ तहका साहिदा सुब्बा र अनिता बसेल, पाँचौँ तहका स्टाफ नर्सहरु सकिला चौलागाईं, अन्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारीलाई पनि ३० दिन भित्र हाजिर हुन आउन सूचनामा उल्लेख गरेको छ।
तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (ज) बमोजिम कारबाही हुने चेतावनी अस्पतालले दिएको छ।