काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा भिड्ने भएका छन्।
मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
बैठकमा भएको सहमतिअनुसार नेता कोइराला थापाको प्रस्तावक बस्नेछन्। त्यस्तै, १५ औं महाधिवेशनमा महामन्त्री थापासहितले नेता कोइरालालाई सहयोग गर्ने गरी समझदारी बनेको छ।
अब सिंहदरबारनजिकै बसेरा होटलमा नेता कोइराला र महामन्त्री थापा उपस्थित भएर नवनिर्वाचित सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम छ। त्यसअघि कोइराला र थापाबीच वान टु वान कुराकानी पनि हुनेछ।
संस्थापन समूहबाट भने सभापति शेरबहादुर देउवा संसदीय दल नेताका लागि उम्मेदवार हुने पक्का छ। अब संसदीय दल नेताका लागि देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ।
कांग्रेसमा एक वर्षअघि भएको महाधिवेशनको समीकरणमा सभापति देउवाको पक्षमा संसदीय दलमा पनि प्रस्ट बहुमत देखिन्छ। तर संस्थापनइतर समूहले महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याउँदा फरक नतिजा आउन सक्ने अड्कलबाजी समेत भइरहेका छन्। संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ।
कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। मनोनयन दर्ताका लागि कांग्रेसले ५१ हजार शुल्क तोकेको छ।
कांग्रेसमा प्रतिनिधि सभामा रहेका ८९ जना सांसदले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान गरेर दल नेता चयन गर्नेछन्।