काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार संसदीय दलको कार्यालय पुगेर देउवा र थापाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गरेका हुन्।
प्रधानमन्त्रीसमेत रहेको कांग्रेस सभापति देउवाको प्रस्तावकमा नेता वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन्।
त्यस्तै, महामन्त्री थापाको प्रस्तावकमा कांग्रेस नेता डा. शेखर कोइराला तथा समर्थकमा पार्टीका उपसभापति धनराज गुरुङ र विश्वप्रकाश शर्मा छन्।
सम्बन्धित समाचारः
संसदीय दलको नेतामा देउवासँग गगन थापा भिड्ने, इतर समूहमा यस्तो भयो सहमति
थापालाई युवा नेता प्रदीप पौडेलले पनि समर्थन गरेका छन्।
सम्बन्धित समाचारः दलको नेतामा गगन थापालाई प्रदीप पौडेलको समर्थन
बुधवार निर्वाचन
कांग्रेस संसदीय दलको नेता चयनका लागि भोलि बुधवार बिहान निर्वाचन हुनेछ।
संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ। हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सांसद छन्।
कांग्रेसका ८९ जना सांसद नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन्।
कांग्रेसमा एक वर्षअघि भएको महाधिवेशनको समीकरणमा सभापति देउवाको पक्षमा संसदीय दलमा पनि प्रस्ट बहुमत देखिन्छ। तर संस्थापनइतर समूहले महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याउँदा फरक नतिजा आउन सक्ने अड्कलबाजी समेत भइरहेका छन्।