बिराटनगर । प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नीपीडितलाई राहत उपलव्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलव्ध गराउने र कानुन बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो ।
अग्नीपीडितलाई राहत तत्काल उपलव्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग गर्ने निर्णय भएको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले बताए । बाक्सिला बजारमा भएको आगलागीमा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको छ ।