काठमाडौँ । आगामी शुक्रबार ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ । ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए ।
ग्राण्ड फिनालेमा चारजना कोचका चार ट्यालेन्टले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टीम राजेशपायल राईबाट सविना योङहाङ, टीम राजु लामाबाट करण राई र टीम प्रविसा अधिकारीबाट शाहिल लिम्बु छन् ।
दर्शकको भोटको आधारमा विजेता घोषणा हुने भएकाले दर्शकमाझ कौतुहलता पनि छ । दर्शकले शुक्रबारको प्रसारण समयसम्मै मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न पाउने छन् ।
दर्शकमात्र हैन नेता पनि प्रतिस्पर्धीलाई जिताउन लागिपरेका छन् । धरानका मेयर हर्क साम्पाङले महिला प्रतिस्पर्धीलाई जिताउन आग्रह गर्दै सविना योङहाङको पक्षमा भोट मागेका छन् ।
दर्शकले ‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनाले शुक्रबार राती ८ बजे हिमालय टेलिभिजनमा हेर्न पाउनेछन् । सोही फिनालेमा अर्को सांगीतिक रियालिटी शो ‘नेपाल लोकस्टार’को प्रसारण हुने मिति पनि घोषणा हुने जनाइएको छ ।