काठमाडौँ । चीनमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि भारतले पनि सतर्कता बढाएको छ।चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ।
चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुनसक्ने बिबिसीले जनाएको छ।
ओमिक्रोनको सबभेरियन्ट बिएफ-७ का संक्रमितका कारण राजधानी बेइजिङ र अन्य सहरका अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ।चीनबाहेक जापान र दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ।
बुधबार मात्रै भारतमा यहीँ भेरियन्टका तीन वटा नयाँ केस फेला परेका थिए। यद्यपि समाचार एजेन्सी एएनआईका अनुसार गुजरातको स्वास्थ्य विभागले यो भेरियन्ट भेटिएका दुई जना निको भइसकेको बताएको छ।
यसैबीच, भारत सरकारले २१ डिसेम्बर २०२२ अर्थात् बुधबारदेखि अन्य देशबाट भारत आउने यात्रुको लागि विमानस्थलमै कोरोना परीक्षण सुरू गरेको छ।
चीनमा ओमिक्रोन सबभेरियन्ट बिएफ-७ को बढ्दो केस र भारतमा पनि यसको संक्रमणलाई ध्यानमा राखेर यो निर्णय गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।