काठमाडौं। आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ। पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।
जसअन्तर्गत कक्षा ५ र १० को पाठ्यक्रमको खाका निर्माण सकिएको र कक्षा ८ को खाका निर्माणकै क्रममा रहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले बताए।
कक्षा ८ र १० को अनिवार्य विषयअन्तर्गत अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषय तथा कक्षा ५ को अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषयको पाठ्यक्रम नयाँ हुनेछ।
नयाँ पाठ्यपुस्तकको ‘प्रिन्ट रेडी कपी’ (छाप्नका लागि तयार भएको मस्यौदा) जनक शिक्षा सामग्री केन्द्रलाई पठाएपछि केन्द्रले छपाइ गर्नेछ।
गत वर्ष कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रममा आधारित भएर पठनपाठन सुरु भइसकेको छ। सरकारले २०८० सालसम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना बनाएको छ।