काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दिएको समयसीमा सकिन दुई दिन बाँकी छदाँ दलहरू सरकार गठनका लागि गृहकार्यमा लागेका छन्।
यसैक्रममा आज बिहान नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न आग्रह गरेका छन्।
नेता सिंहका स्वकीय सचिव युपी लामिछानेका अनुसार, नेता सिंहले सरकारको कार्यकाल बाँड्ने र पहिलो प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन गर्न सघाउन आग्रह गरेका थिए। साथै, नेता सिंहले अन्य राजकीय पदहरूमा शक्तिको बाँडफाँट गर्न पनि अध्यक्ष प्रचण्डसमक्ष प्रस्ताव गरे।
तर अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनको सरकारको नेतृत्व काँग्रेसले गरेकोले अब बन्ने सरकारको पहिलो नेतृत्व आफूले गर्न पाउनुपर्ने भनाई राखेको कांग्रेस नेता सिंहका स्वकीय सचिव लामिछानेले बताए।
प्रचण्डसँगको भेटपछि बालुवाटार पुगेर नेता सिंहले प्रचण्डसँग भएको कुराकानीबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका छन्।
सरकार गठनकै सिलसिलामा बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो। आज पनि गठबन्धनका शिर्ष नेताहरुबीच सरकार गठनबारे छलफल हुँदैछ।