काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सले शानदार जित निकालेको छ।
उसले मंगलबार जनकपुर रोयल्सलाई ५३ रनले पराजित गर्दै शानदार जित निकालेको हो। आजको जितसँगै काठमाडौं अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने जनकपुर तालिको तेस्रो स्थानमा झरेको छ।
काठमाडौंले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय १५५ रन मात्र बनाउन सक्यो। उसका लागि समिउल्लाह शिनवारीले सर्वाधिक २९, सन्दीप जोराले २६, पवन सर्राफले २४, शराफुद्दीन अशरफले १९, मोहम्मद आदिल आलमले १६ र जितेन्द्र मुखियाले १९ रनको योगदान दिए ।
काठमाडौंका लागि बलिङमा अजमातुल्लाह उमरजाईले तीन, बसिर अहमदले दुई, अविनाश बोहरा, अनिल खरेल र सुनम गौतमले एक/एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनायो।
उसका लागि एलेक्स ब्लेकले अविजित ८३, वीरन्दीप सिंहले ४९, अजमातुल्लाह उमरजाईले ४३ र लोकेश बमले १५ रन बनाए।
जनकपुरका लागि पवन सर्राफले दुई, सोमपाल कामी, जितेन्द्र मुखिया, शराफुद्दीन अशरफ र मोहम्मद आदिल आलमले एक÷एक विकेट लिए।
जारी प्रतियोगितामा काठमाडौं यो दोस्रो जित हो। उसले तीन खेल खेल्दा एकमा हार बेहोरेको छ।
जनकपुरको भने यो पहिलो हार हो। उसले पहिलो दुई खेलमा जित निकालेको थियो।