काठमाडौं। टिकटकमा चर्चित मोडल मिस पवी अडियो/रेडियो नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायक छानिएकी छन्।
ललितपुरमा भएको एक कार्यक्रममा एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच त्यस कार्यका लागि सहमति भएको हो।सार्वजनिक योजनाअनुसार अडियो/रेडियो नाटक रोपेगुना फलमा आधारित टिकटक बनाउने उत्कृष्ट तीन जनाले आकर्षक नगद पुरस्कार पाउनेछन्।
विशेषगरी जन्मेदेखि आठ वर्षसम्मका बालबालिका हुर्काउन र बढाउन अभिभावकको जिम्मेवारीमा उत्कृष्ट टिकटक बनाउनेमध्येबाट पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउने छन्। टिकटक प्रतियोगितामा चर्चित टिकटकर मिस पवीले प्रचारप्रसार, प्रवर्द्धन तथा निर्णायक समूहमा रही सहयोग गर्नेछन्।
मिस पवी सुदूरपश्चिममा बोलिने डोटेली भाषामा समसामयिक सन्देशमूलक टिकटक बनाएर दर्शकमाझ लोकप्रिय छन्। रोपेगुना फल अडियो/रेडियो सुदूरपश्चिम र कर्णाली प्रदेशका अभिभावक, किशोरकिशोरी तथा युवायुवतीलाई लक्षित नाटक हो।
एन्टेना फाउण्डेशनका अनुसार यो प्रतियोगितामा भाग लिने प्रतियोगिले यस नाटकको कुनै पनि रेकर्डेड अङ्कबाट कुनै पनि संवाद छनोट गर्न सक्ने छन्।
टिकटक भ्युज, लाइक्स, कमेन्ट, शेयर सङ्ख्या र सामाजिक संवेदनाको कसीमा राखी प्रतियोगी छनोट गरिनेछ।
