काठमाडौं। नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सले लगातार चौथो जित निकालेको छ।
चौथो जित हात पार्ने क्रममा उसले बुधबार फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा हरायो। फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्य लुम्बिनीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।
सुपर ओभरमा पहिला ब्याटिङ गर्दै लुम्बिनीले १९ रन बनायो। २० रनको लक्ष्य पछ्याएको फार वेस्टले १० रन मात्र बनाउन सक्यो।
निर्धारित २० ओभरमा खेलमा १३८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका लागि युवा अलराउन्डर गुल्शन झाले अविजित ३६, लाहिरु मिलन्थाले ३४, विपुल शर्माले ३१ रन बनाए।
फार वेस्टका लागि करण केसी, शेर मल्लले दुई/दुई, भुवन कार्की, उमेर अली, राशिद खान र हसमतुल्लाह शाहिदीले एक÷एक विकेट लिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो।
उसका लागि देव खनालले ४८, कप्तान हसमतुल्लाह शाहिदीले ३२, भीम सार्कीले १५, करण केसीले अविजित १२, विनोद भण्डारी र हसिम अन्सारीले ११/११ रन जोडे।
लुम्बिनीका लागि शेड्ले भ्यान शाल्कविकले दुई, सागर ढकाल, किशोर महतो र हरमीत सिंहले एक/एक विकेट लिए।
तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनीले चार खेलबाट ८ अंक जोडिसकेको छ। फार वेस्टले तीन खेलमा दुईमा हार र एक खेलमा मात्र जित हात पारेको छ।
आजै हुने दोस्रो खेलमा विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स खेल्दैछन्।