काठमाडौं। विराटनगर सुपर किंग्सले राजधानीमा जारी नेपाल टी–२० लिगमा पहिलो जित निकालेको छ। उसले बुधबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको हो।
पोखराले दिएको १ सय ४० रनको लक्ष्य विराटनगरले १७.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
उसका लागि हुसेन तलतले अविजित ५०, अर्जुन साउँदले २५, आन्द्रे म्याककार्थीले २१, पृथु बाँस्कोटाले १५ र विवेक यादवले अविजित १४ रन जोडे। पोखराका लागि कुशल मल्ल र शरद भेषवाकरले दुई/दुई विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनायो। उसका लागि कुशल मल्लले सर्वाधिक ३७, सिद्धान्त लोहनीले २६, उपुल थरंगाले १९, सुमित महर्जनले १२, प्रतिश जिसीले अविजित ११ र आसिफ शेखले ११ रन जोडे। विराटनगरका लागि हुसेन तलत, राज नाननले दुई/दुई, साहब आलम, आन्द्रे म्याककार्थी र नन्दन यादवले एक/एक विकेट लिए।
यो जितसँगै विराटनगर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। उसले तीन म्याच खेल्दा दुईमा हार र एक खेलमा जित निकालेको छ।
पुछारमा रहेको पोखराले भने तीन म्याच खेल्दा सबैमा हारको सामना गरेको छ। त्यस्तै, अंक तालिकाको शीर्षमा लुम्बिनी अल स्टार्स, दोस्रोमा काठमाडौं र तेस्रोमा जनकपुर रहेका छन्। अंक तालिकाको पाँचौं स्थानमा फार वेस्ट युनाइटेड रहेको छ।