काठमाडौं। पहिलो संस्करणको नेपाल टी–२० लिगअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर सुपर किंग्स ८ विकेटले विजयी भएको छ।
बिहीबार भएको पहिलो खेलमा पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि उपकप्तान रोहितकुमार पौडेलले उत्कृष्ट पारी खेले ।
५७ बलको सामना गरेका उनले ६ चौका र तीन छक्कासहित अविजित ७१ रन बनाए। जारी लिगमा रोहितको यो पहिलो अर्धशतकीय पारी हो।
त्यस्तै, गौरांशु शर्माले ३३ र हुसेन तलतले अविजित २८ रनको योगदान दिए । विकेटकिपर अर्जुन साउँद भने शून्यमै आउट भए । पोखराका लागि जाहिर खान र अमीर हम्जाले मात्र एक/एक विकेट लिन सके।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनायो। उसका लागि अमीर हम्जाले अविजित ३७, सुमित महर्जनले २६, कप्तान उपुल थरंगाले २५, प्रतिश जिसीले अविजित १३ र आसिफ शेखले ११ रन बनाए । विराटनगरका लागि आन्द्रे म्याकार्थीले तीन, शाहब आलम, राज नानन र नन्दन यादवले एक/एक विकेट लिए ।
आजको जितसँगै विराटनगर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसले चार म्याच खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ।
अंकविहीन पुछारमा रहेको पोखराले पाँच म्याच खेल्दा सबैमा हार बेहोरेको छ।