काठमाडौं। नेकपा एमाले र एकीकृत समाजवादी पार्टीबीच एकता हुने चर्चा चलिरहेको छ।
स्रोतका अनुसार एकताका लागि दुबै पार्टीका दोस्रो तहका नेताहरुले सम्वाद अगाडि बढाएका छन्। उनीहरुले एमाले अध्यक्ष केपी ओली र समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरिरहेका छन्।
एमाले नेता महेश बस्नेतले ओली र नेपाल पार्टी एकीकरणका लागि सकारात्मक रहेको विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उल्लेख गरेका छन्। तर, त्यसबारे एमालेले औपचारिक जानकारी केही दिइएको छैन।
यसैबीच समाजवादीका नेता जगन्नाथ खतिवडाले एकताको हल्ला मात्रै भएको स्पष्टिकरण दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत समाजवादी कुनै पार्टीसँग एकीकरण गर्ने गरी अगाडि नबढेको बताएका छन्।
यति बेला पार्टी सुदृढीकरणको योजना बनाइरहेको र पार्टी विस्तारका अभियानहरु कसरी अगाडि बढाउने भनेर विचार विमर्शमा रहेको उल्लेख गरेका छन्। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटिका बैठकहरु आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन्।
उनले प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय गरि नसकेको र छलफलमै रहेको बताएका छन्।
त्यस्तै, समाजवादीको युवा संगठनका अध्यक्ष तथा प्रदेश सांसद नरेश शाहीले पनि राजनीतिमा पावर ब्रोकरहरुले आफ्नो मार्केटिङ भ्यालु बढाउनका लागि विभिन्न फन्डा ल्याइरहेकोले त्यसमा लाग्न जरुरी नरेहको बताएका छन्।
उनले भनेका छन्, ‘मुल कुरा कम्युनिस्ट आन्दोलनमा पुर्नजागरण र बृहत् कम्युनिस्ट सङ्गठन र्निर्माण, सामाजिक परिवर्तन र समाजवाद स्थापनाको सवाल हो। यसमा खुद्रामसिना व प्राविधिक कुरामा समाधन खोजिने वा हुने छैन। त्यसैले कमरेडहरु आन्दोलन र सङ्गठन निर्माणको सोच र योजना बनाउने तिर लागौं।’