काठमाडौं। नाबालिगलाई बलात्कारको आरोपित राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले दिएको पुनरावेदनको मुद्दामा बिहीबार सुनवाइ हुन सकेन।
सन्दीपको मुद्दा पाटन उच्च अदालतका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो। तर, पाँचौं नम्बरमा रहेको सन्दीपको मुद्दा ‘हेर्न नभ्याईएको’ सूचीमा राखिएको छ।
यसअघि उनका वकिलहरुले उनको मुद्दामा आजै बहस भई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने भन्ने आदेश दिने बताएका थिए।
काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसकाविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिएका थिए।
गत साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए। यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण अस्पतालबाट झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।
यस्तै, इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ। उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ।
लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।
सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा दुई पटक बलात्कार गरेको आरोप लागेको छ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।