काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगअन्तर्गत लुम्बिनी अल स्टार्सले लगातार पाँचौ जित निकालेको छ।
शुक्रबार भएको पहिलो खेलमा काठमाडौं नाइट्सलाई ३५ रनले हराउँदै उसले लगातार पाँचौ जित निकालेको हो।
लुम्बिनीले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो। उसका लागि अजमातुल्लाह उमरजाईले सर्वाधिक ३८ रन बनाए।
त्यस्तै, सुनम गौतमले १८, एलेक्स ब्लेकले ११, बसिर अहमदले १० र कमल सिंह ऐरीले अविजित १९ रनको योगदान दिए।
लुम्बिनीका लागि हरमित सिंहले ३, किशोर महतो, तिलक भण्डारी, ह्यारी टेक्टर र शेडले भ्यान शाल्कविकले एक/एक विकेट लिए।
त्यसअघि, टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राजेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनायो्। उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४०, लाहिरु मिलन्थाले २५, कुशल भुर्तेलले १९, अनिल साहले १३, हरमित सिंहले १२ र शेडले भ्यान शाल्कविकले नटआउट २१ रन बनाए।
काठमाडौंका लागि बलिङमा अजमातुल्लाह उमरजाईले २, अनिल खरेल, बसिर अहमद, सुनम गौतम, एलेक्स ब्लेक र अविनाश बोहराले एक/एक विकेट लिए।
आजको जितसँगै लुम्बिनी १० अंकका साथ तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ। जारी प्रतियोगितामा उसले पाँच खेल खेल्दा पाँचमै जित हात पारेको छ ।
त्यस्तै, यो हारसँगै काठमाडौंले जारी सिजनमा दोस्रो हार बेहोरेको छ। उसले चार खेलमा दुई जित निकालेको छ। ऊ अंक तालिकाको तेस्रो स्थानमा कायम रहेको छ।