काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका आयुक्तसँग छलफल गरेका छन्।
सोमबार बिहान सिंहदरबारस्थित कार्यालयमा प्रचण्डले निर्वाचन आयोगका आयुक्तसँग छलफल गरेका हुन्।
सो छलफलमा प्रचण्डले संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुलाई निर्देशन दिए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौंला।’
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद व्यक्त गरे।
राष्ट्रियसभाको रिक्त रहेको एक सिटका लागि माघभित्र उपचुनाव गर्ने तयारी छ। भएको छ। उपचुनावका लागि मिति तय गर्न सोमबार निर्वाचन आयोग पदाधिकारीको बैठक बस्दैछ।
प्रतिनिधिसभा चुनावमा उठ्नका लागि एमालेका सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रियसभामा एक सिट खाली भएको थियो। राष्ट्रियसभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि मतदाता हुने भएकाले तत्काल रिक्त स्थान पूर्ति गर्नुपर्ने भएकाले उपचुनाव हुन लागेको हो।
उक्त छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रवि लामिछाने पनि उपस्थित थिए।
बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराए।