काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्।
आज (सोमबार)बाट काठमाडौंमा सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका हुन्।
उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठीक गरिरहेको र कसैको सामु लत्रने पक्षमा नरहेको बताए। मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरू अघि बढ्न उनले जानकारी दिए।
अध्यक्ष नेपालले आफूहरूबाट केही गल्ती भए सच्चिन तयार रहेको र कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न चेतावनी दिए।
आजबाट सुरु भएको बैठकमा नेताहरूले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्नेछन्।
बैठकमा निर्वाचनको समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ।