धनगढी। नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले टीकापुर घटनाको निकास नदिए माघपछिका संसदका कुनै पनि बैठक चल्न नदिने चेतावनी दिएका छन्।
सुदूरपश्चिम प्रदेशसभाको सोमबार आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले सो चेतावनी दिएका हुन्।
उनले भने, ‘हाम्रो लागि आजदेखि ५ वर्ष चुनौती र अवसरको रुपमा रहेको छ हामीले ५ वर्षमा काम गर्न नसके व्यर्थ जाने निश्चित छ। त्यसैले हामी गम्भीर हुन जरुरी छ। २०७२ मा संविधान लेखन हुँदै गर्दा टीकापुर घटना घट्यो। राजनीतिक अधिकारको क्रममा घटना घट्यो। तर राज्यले हाम्रो समुदायलाई ठूलो अन्याय गरेको छ टीकापुर घटनालाई ७ वर्षसम्म सरकारले निकास सकेको छैन।’
टीकापुर घटनालाई अपराधिक नभएर राजनीतिक घटनाको रुपमा निकास खोज्नुपर्ने उनले बताए। उनले अगाडि भने, ‘समाधानले मात्रै समाज विकास हुनेछ। यदि माघभित्रै निकास नदिए माघपछिको अधिवेशन चल्न दिने छैनौ।’
चैधरीले थारुहरुको ठूलो पर्व माघीसम्म रेशम चौधरीको रिहाइ मुख्य शर्त भएको बताए।