काठमाडौं। जनकपुर रोयल्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफ नजिक पुगेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाइटेडलाई ८२ रनले हरायो। जितसँगै जनकपुर दोस्रो स्थानमा यथावत छ।
जितका लागि जनकपुरले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको फार वेस्ट १५.१ ओभरमा सवै विकेटको क्षतिमा ७९ रनमा समेटिएको थियो।
फार वेस्टका लागि कप्तान हजमतुल्लाह शाहिदीले ३२, राशिद खानले अविजित १७ रन बनाए।
बलिङमा जनकपुरका समिउल्लाह शिनवारीले ३, सोमपाल कामी र पवन सराफले दुई दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो। जनकपुरका लागि सन्दिप जोराले ५५, कप्तान ट्राभोन ग्रिफिथले ३२, चाल्डिक वाल्टनले २४, सरफुदिन असरफले २० र राजेश पुलामीले १६ रन बनाए। जोरा म्यान अफ दि म्याच घोषित भए।
बलिङमा फार वेस्टका प्रकाश जैसीले ३, भुवन कार्कीले दुई तथा नुर अहमेदले एक विकेट लिए।
जितसँगै जनकपुरले सात खेलबाट १० अंक बनाएको छ। पराजित पार वेस्ट ६ खेलबाट दुई अंक जोड्दै तालिकाको अन्तिममा छ। लगातार हारले फार वेस्टको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ।