काठमाडौं। नेपाल टी–२० लिगमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सको खेल सुरु भएको छ।
यसअघि बिहान ९ बजे सुरु हुने तालिका रहेको काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल नहुने स्थितिमा पुगेको थियो। तर, साँझसम्ममा खेलाडीलाई पारिश्रमिक दिने सहमति भएपछि खेल सुरु भएको हो।
लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएपछि खेलाडीले टस गर्न मानेका थिएनन्। क्यानका पदाधिकारी र लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका छन्।
विराटनगर सुपर किंग्सविरुद्ध काठमाडौं टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। टियु क्रिकेट मैदानमा बिहान १०ः३० मा भएको टसमा काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।
लिगअन्तर्गतका ६० प्रतिशतभन्दा बढी खेल भइसक्दा पनि काठमाडौं, विराटनगर, जनकपुर रोयल्स र फारवेस्ट युनाइटेडका खेलाडीहरूले कुनै पारिश्रमिक नपाएको बताइएको छ। लुम्बिनी र पोखराका खेलाडीले पारिश्रमिक पाइसकेका छन्।
मिलेमतोको आरोप
लिगमा मिलेमतो भइरहेको आरोप पनि लागेको छ। लिगमा मिलेमतो भइरहेको आरोप लगाउँदै अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले आजको दिनदेखि लिगमा संलग्न नहुने पनि जनाएका छन्।