काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई ३४ रनको हराएको छ।
उसको यो चौथो जित हो। विराटनगरको यो पाँचौं हार हो। आफ्नो सातौँ खेलमा काठमाडौंले दिएको ९३ रनको रनको लक्ष्य पछ्याएको विराटनगरले ८.५ ओभरमा सबै विकेट गुमाएर ५८ रन मात्र बनाउन सक्यो।
उसका लागि गौरांशु शर्माले सर्वाधिक २२, विवेक यादवले १२ र नन्दन यादवले अविजित ११ रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। काठमाडौंका लागि कमल सिंह ऐरीले तीन, सुनम गौतम, अनिल खरेलले दुई/दुई, बसिर अहमद र अविनाश बोहराले एक/एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनायो। उसका लागि सन्दीप रजालीले अविजित ३२, कप्तान ज्ञानेन्द्र मल्लले १४, एलेक्स ब्लेकले १३ र कमल ऐरीले नटआउट १४ रनको योगदान दिए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।
विराटनगरका लागि नन्दन यादवले तीन, हुसेन तलत केओन जोसेफले एक/एक विकेट लिए।
विराटनगरलाई हराएसँगै काठमाडौं नाइट्स ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। उसले जारी सिजनमा सात खेल खेल्दै चारमा जित र तीनमा हार बेहोरेको छ।
यो हारसँगै विराटनगर चार अंकसहित तालिकाको पाँचौँ स्थानमा । विराटनगरले सात म्याच खेल्दा दुईमा जित र पाँच खेलमा हार बेहारेको छ।
पारिश्रमिकको विषयमा कुरा नमिल्दा बिहान ९ बजेदेखि सुरु हुनुपर्ने काठमाडौं र विराटनगरको खेल २ घण्टा ढिला सुरु भएको थियो। नेपाल क्रिकेट संघ (क्यान) र टिम मालिकबीच खेलाडीलाई पारिश्रमिक दिने विषयमा सहमति भएपछि खेल ९ ओभरमा झारिएको थियो।