काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ भइरहेको खुलासा भएको छ।
विराटनगरमाथि जितपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेको काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले नेपाल टी–२० लिगमा म्याच फिक्सिङ भइरहेको खुलासा गरेका हुन्।
उनले आफ्नो टिमको एक खेलाडीलाई खेल खेल्ने क्रममा म्याच फिक्सिङका लागि दवाव आएको खुलाए। तर, त्यसलाई अस्वीकार गर्र्दै उजुरी दिएको उनले जानकारी दिएका छन्। उनले त्यस विषयमा अनुसन्धान समेत भइरहेको बताए।
उनले भने, ‘हाम्रा खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको थियो। हामीले एसियुलाई रिपोर्ट गरेका छौं।’
उनले कुन खेलाडीलाई कसले म्याच फिक्सिङका लागि दवाब दियो भन्ने चाहीँ खुलाएनन्।
त्यस्तै, बेटिङ र स्पट फिक्सिङ भइरहेको उजुरीपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लिगबारे अनुसन्धान गरिरहेको बताइएको छ।
लिगमा मिलेमतो भइरहेको आरोप लगाउँदै अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले आजको दिनदेखि लिगमा संलग्न नहुने घोषणा गरिसकेका छन्।
पारिश्रमिक विवाद
यसअघि मंगलबार बिहान ९ बजे सुरु हुने तालिका रहेको काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल नहुने स्थितिमा पुगेको थियो। तर, साँझसम्ममा खेलाडीलाई पारिश्रमिक दिने सहमति भएपछि खेल भएको छ।
लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएपछि खेलाडीले टस गर्न मानेका थिएनन्। क्यानका पदाधिकारी र लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका थिए।
लिगअन्तर्गतका ६० प्रतिशतभन्दा बढी खेल भइसक्दा पनि काठमाडौं, विराटनगर, जनकपुर रोयल्स र फारवेस्ट युनाइटेडका खेलाडीहरूले कुनै पारिश्रमिक नपाएको बताइएको छ। लुम्बिनी र पोखराका खेलाडीले पारिश्रमिक पाइसकेका छन्।