काठमाडौं। सरकारमा सहभागी हुने/नहुनेबारे नेकपा एकीकृत समाजवादी (एस) अनिर्णित बनेको छ।
उक्त विषय टुंगो लगाउन एसको स्थायी कमिटी र पोलिटब्युरो बैठक बसेको थियो। तर, ४ दिन बसेको स्थायी कमिटी र पोलिटब्युरो बैठकले पनि सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न सकेन।
आज सकिएको पोलिटब्युरो बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय केन्द्रीय सचिवालयलाई जिम्मा दिएको छ।
नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुने वा नहुने विषयमा थप अध्ययन र छलफलको आवश्यकता रहेको औँल्याउँदै यसको निर्णय गर्ने अधिकार सचिवालयलाई प्रदान गरिएको जानकारी दिए।
यो विषयमा सरकारको तर्फबाट कुनै औपचारिक प्रस्ताव नआएको पनि उनले प्रष्ट पारे।
बैठकले वामपन्थी दलबीचमा पार्टी एकता, सहकार्य गर्ने, मोर्चा बनाउने विषय केन्द्र भागमा राखेर काम गर्ने निर्णय गरेको छ।
बैठक मुख्यगरी पार्टीलाई कसरी सफल, सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएको उनको भनाइ छ।
केही दिनअघि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न माग गरेका थिए। तर, प्रचण्ड नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने कि नगर्नेबारे एकीकृत समाजवादी अझै पर्ख र हेरको अवस्थामा छ।
गत पुस १० मा सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन्।