बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाले लुहारको परिवारलाई आर्थिक सहयोग गरेको छ । घाँटी रेटी हत्या गरिएकी पञ्चेश्वर ४ फ्याउलेकी माया लुहारको परिवारलाई गाउँपालिकाले २ लाख ५० हजार आर्थिक सहयोग गरेको गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताइन् ।
यसअघि घाइते नेहा लुहारको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेको पलिकाले अहिले २ लाख ५० हजार चेक हस्तान्तरण गरेको उनले बताइन् । यस्तै गाउँपालिका उपाध्यक्ष बिना भट्ट, वडा अध्यक्ष र कर्मचारीहरूले व्यक्तिगत रूपमा सङ्कलन गरेर ६३ हजार रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको बताइएको छ ।
सशस्त्र प्रहरीका जवान समेत रहेका शिवनाथ ४ सोलपालाका भरतराम कोलीले माया लुहारको घाँटी रेटेर हत्या गरेका थिए भने नेहा लुहारलाई घाटीमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए । यता माया हत्याका अभियुक्त भरतराम कोलीलाई पुर्पक्षका लागि कारागार चलान गरिसकिएको छ ।
मायाको चक्कुले घाँटी रेटेर हत्या गरेको स्वीकार गरिसकेका कोलीलाई प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरेको थियो । अदालतले कोलीलाई पुस ६ गते नै पुर्पक्षका लागि कारागार चलान गरेको हो ।